Thursday, December 2, 2010

“मेरो कविता, म होइन”

तिमी अघि उभिँदा
म जस्तै लाग्छ
ए ऐना !
उही रुप,उही अंग
उही म,
तरैपनि
मेरो प्रतिबिम्ब म होइन,
विचार भिन्नै
भावना भिन्नै
मेरो कविता,म होइन !
ठुलो घरको
बन्द कोठामा
३० बर्षे
तरुनी झैँ
कसैको पहिलो
स्पर्ष
पर्खिरहेछ
मेरो कविता,म होइन !!
चोट, व्यथा
पीर, मर्क
दुख,सुख
मिलन,बिछोड
सबैले
भरिएको,
लाहुरेको चिट्ठी झैँ
हुलाकीको थैलोमा
गन्तब्य खोज्दैछ
मेरो कविता, म होइन !!!
जीवनरुपी बगैचामा
अजम्बरी
फूल झैँ
फुल्छ,
आकाश जस्तै
अमर कविता मेरा
म जस्तै
दुइ दिनको
पाहुना होइन,
मेरो कविता, म होइन !!!!

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.